पार्टीको आधिकारिकता छिनोफानो गर्ने आदेशविरुद्ध महन्थ ठाकुर पुगे सर्वाेच्च

प्रधान सम्पादक / शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

पार्टीको आधिकारिकता छिनोफानो गर्ने आदेशविरुद्ध महन्थ ठाकुर पुगे सर्वाेच्च

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद समाधान गर्न निर्वाचन आयोगले कार्यकारिणी समितिका पदाधिकारीहरुलाई ११ साउनमा आयोगमा सशरीर आउन भनेपछि दबाबमा परेका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगविरुद्ध सर्वाेच्च अदालत गएका छन् ।

आयोगले बिहीबार पार्टीका केन्द्रीय कार्यकारिणी परिषदका सदस्यलाई सोमबार आधिकारिकता टुंग्याउन आफ्नो आधिकारिक परिचयपत्र लिएर आउन भनेको छ। अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार बहुमत कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरसहित असार ४ गते निवेदन दिएका थिए।

दुवै पक्षलाई राखेर छलफल गराउँदा सहमति नजुटेपछि आयोगले इजलास नै गठन गरेर आधिकारिकता विवाद छिनोफानो गर्ने प्रक्रिया सुरु गरेको थियो। साउन ३ गते र ७ गते भएको बहसपछि आयोगले सोमबार कार्यकारिणी परिषदका सदस्यको सनाखतबाट विवाद टुंग्याउने आदेश दिएको छ।

जसपा विवादः साउन ११ गते कार्यकारिणी समितिका सदस्यसहित आउन निर्वाचन आयोगको आदेश

जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषदमा जसको पक्षमा बहुमत पुग्छ उसैलाई दलको आधिकारिकता दिने तयारी आयोगले गरेपछि ठाकुरले त्यसलाई रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

उनले आफूले दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम अद्यावधिकका लागि दिएको निवेदन अस्वीकार गरी यादवले दफा ४४ (१) अनुसार दिएको निवेदनमाथि सुनुवाइ गरेको गैरकानुनी भएको जिकिर निवेदनमा गरेका छन्।

ठाकुरले दायर रिट निवेदनमा भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको हेरफेर सहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउदा हेरफेरबाट थपिएका केन्द्रीय कार्यकारिणी समिति लगायत यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त हुन जाने भई म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकोले सुबिधा सन्तुलनको दृष्टिबाट समेत प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेल राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा (६) बमोजिमको विवाद निरुपणको क्रममा मिति २०७८।४।११ गतेका दिन बहुमत परिक्षण गर्ने आदेश कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत जारी गरी पाउँ।’

कार्यकारिणी परिषदमा यादव पक्ष बहुमतमा रहेको जसपा निकट स्रोतको दाबी छ। यादवसँग ३० जना भन्दा बढी सदस्य रहेका छन्।

निर्वाचन आयोगले कार्यकारिणी समितिलाई बोलाएपछ यादव पक्ष उत्साहित बनेको छ भने ठाकुर पक्ष तर्सिएको छ ।

निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्ने भनेपछि उपेन्द्र–बाबुराम हौसिए, महन्थ–राजेन्द्र तर्सिए

तपाईलाई यो खबर कस्तो लाग्यो