मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै २२ गुणा बढी आवेदन

Vibes Nepal Team / बिहिबार, असार १७, २०७८ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै ६ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८८ हजार ३७२ जनाले ७९ लाख ५३ हजार ८७० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २२ गुणा बढी आवेदन परेको हो ।

संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ। उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा न्युनतम १० कित्ता देखी १००० कित्ता सम्म आवेदन दिन सकिनेछ।आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

आईपीओका लागि लघुवित्तलाई इक्रा नेपालले “[ICRANP-IR] BB” अर्थात डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तिय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानकारी गराउछ।

आइपीओ बिक्रीपछि मनकामनाको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९६ लाख ७६ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा पुग्ने अनुमान छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो